अरबिन्द सिंह,ढल्केवर, धनुषा | न्यूज एक्प्रेस
धनुषाको मिथिला नगरपालिका–६ स्थित बसी खोलाछेउ लक्ष्मीनिवास जाने भित्री सडकखण्डबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरी टोलीमाथि शंकास्पद व्यक्तिहरू भाग्न खोजेपछि एक राउण्ड हवाई फायरसमेत गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केवर र लागूऔषध नियन्त्रण ब्युरो, बर्दिबास महोत्तरीको संयुक्त टोलीले शुक्रबार अपराह्न करिब ४:३० बजे उक्त क्षेत्रमा निगरानी गरेको थियो।
प्रहरी टोलीलाई देख्नेबित्तिकै दुई जना व्यक्ति भाग्न थालेपछि नियन्त्रणमा लिन खोज्दा लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी सहायक निरीक्षक प्रकाशराज थापाले आफ्नो सरकारी चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि दुवै जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा एक जनाको पाइन्टको गोजीबाट प्लास्टिकमा बेरेर राखिएको खैरो हिरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको हल्लिविद थाना–५ निवासी २६ वर्षीय सन्तोष कुमार महतो र बसोपट्टी थाना–२ निवासी ४८ वर्षीय मिथिलेश साह रहेका छन्।
प्रहरीका अनुसार बरामद गरिएको पदार्थको प्लास्टिकसहित तौल १०३.२२० ग्राम रहेको छ भने प्लास्टिक हटाउँदा ९५.५१० ग्राम खैरो हिरोइनजस्तो पदार्थ रहेको पाइएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।






