अरबिन्द सिंह,न्यूज एक्सप्रेस | ढल्केवर, धनुषा
धनुषाको ढल्केवरस्थित होटल तथा गेष्ट हाउसहरू फेरि एकपटक विवादको केन्द्रमा परेका छन्। चार महिनाको अन्तरालमा दुई फरक होटलमा दुई महिलाको रहस्यमय मृत्यु भएपछि होटल सञ्चालन, सुरक्षा मापदण्ड, प्रहरी निगरानी र स्थानीय सरकारको नियमनमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
पछिल्लो घटना असार २६ गते राति ढल्केवरस्थित माँ भवानी होटल एण्ड गेष्ट हाउसमा भएको हो। होटलको कोठामा अचेत अवस्थामा फेला परेकी धादिङकी ५१ वर्षीया चेलीमाया तामाङलाई उपचारका लागि जानकी मेडिकल कलेज लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार मृतकसँगै कोठामा रहेका सिन्धुपाल्चोकका ५० वर्षीय एबनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू श्रीमान–श्रीमती नभएको खुलेको प्रहरीले जनाएको छ।
होटल सञ्चालक मुकुन्द अधिकारीले भने उनीहरूले आफूहरू श्रीमान–श्रीमती भएको जानकारी दिएपछि पुरुषको परिचयपत्रको विवरण टिपेर कोठा उपलब्ध गराइएको बताएका छन्। महिलाको परिचय खुल्ने कागजात नलिइएको स्वीकार गर्दै उनले त्यसलाई आफ्नो कमजोरी मानेका छन्।
यसअघि गत चैत १८ गते ढल्केवरकै जुन तारा स्टाप लाइन होटलमा पोखरा महानगरपालिका–१३ की २३ वर्षीया जेनिसा विक मृत फेला परेकी थिइन्। घटनापछि मृतककी आमाले होटल सञ्चालकले फोन गरेर छोरीलाई बोलाएको र घटनालगत्तै केही व्यक्ति फरार भएको आरोप लगाएकी थिइन्। उक्त घटनाको अनुसन्धान जारी रहे पनि होटल सञ्चालनमा रहेको बताइन्छ।
लगातार दुई महिलाको अस्वाभाविक मृत्युले ढल्केवर क्षेत्रमा होटल व्यवसायको आडमा अवैध गतिविधि भइरहेको भन्ने जनगुनासोलाई थप बल पुगेको स्थानीयहरूको भनाइ छ। स्थानीयका अनुसार केही होटलमा यौन व्यवसाय सञ्चालन हुने तथा युवतीहरूलाई मागअनुसार विभिन्न होटलमा पठाइने गरेको चर्चा लामो समयदेखि हुँदै आएको छ।
यद्यपि इलाका प्रहरी कार्यालय ढल्केवरले त्यस्ता आरोप पुष्टि नभएको जनाएको छ। प्रहरी निरीक्षक केसीले नियमित निगरानी र अनुगमन भइरहेको दाबी गर्दै बाहिर चर्चा भएजस्तो अवस्था अहिलेसम्म फेला नपरेको बताएका छन्।
स्थानीयवासीहरूले भने होटल, डान्सबार र गेष्ट हाउसहरूको प्रभावकारी अनुगमन हुनुपर्ने माग गर्दै आन्दोलनको तयारीसमेत थालेका छन्। उनीहरूका अनुसार सार्वजनिक स्थानमा हुने अशोभनीय गतिविधिले सामाजिक वातावरण बिग्रँदै गएको छ र जनप्रतिनिधि तथा सम्बन्धित निकायले समयमै हस्तक्षेप नगरे समस्या अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
पूर्व–पश्चिम राजमार्गसँग जोडिएको महत्वपूर्ण व्यापारिक केन्द्र ढल्केवरमा दैनिक हजारौं यात्रुको आवतजावत हुने भए पनि होटलहरूले अतिथिको पहिचान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रिया कत्तिको पालना गरिरहेका छन् भन्ने विषयमा प्रभावकारी निगरानी आवश्यक देखिएको छ।
न्यूज एक्सप्रेसको प्रश्न:
लगातार भइरहेका यस्ता घटनाबाट सम्बन्धित निकायले पाठ सिक्ला, कि अर्को दुर्घटनापछि मात्रै फेरि चासो देखाइनेछ?
न्यूज श्रोत -अनपुर्ना पोस्ट बाट







