सिरहा । सिरहाको गोलबजारमा कर्फ्यू जारी रहेका बेला भएको प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।
गोली लागेर मृत्यु हुनेमा सिराहाको मिर्चैया नगरपालिका–तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेको बताइएको छ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कर्फ्यू जारी रहेको अवस्थामा प्रदर्शनका क्रममा यादवलाई गोली लागेको थियो। गोली लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।
घटनापछि गोलबजार क्षेत्रमा थप तनाव उत्पन्न भएको छ भने स्थानीय प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाको विस्तृत कारण तथा गोली कसले चलायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।






